कैलाली जिल्ला फुटवल संघ द्वारा कृष्णराज पाण्डेयलाई फुटबल प्रशिक्षण कार्यक्रमको जिम्मेवारी
धनगढी। कैलाली जिल्ला फुटबल संघ (केडीएफए) ले जिल्लामा सञ्चालन हुने विभिन्न फुटबल प्रशिक्षण कार्यक्रमको जिम्मेवारी मनकामना यूवा क्लव जुगेडा का अध्यक्ष तथा कैलाली जिल्ला फुटवल संघका सदस्य कृष्णराज पाण्डेय लाई प्रदान गरेको छ।
संघको निर्णयअनुसार धनगढी उपमहानगरपालिका भित्र सञ्चालन हुने ग्रासरुट फुटबल प्रशिक्षण, युवा फुटबल विकास प्रशिक्षण तथा अन्य उमेर समूहका फुटबल प्रशिक्षण कार्यक्रम हरूलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी पाण्डेयलाई दिइएको हो।
केडीएफएले जारी गरेको पत्रमा पाण्डेयलाई फुटबल प्रशिक्षण निर्देशक को भूमिकामा रही प्रशिक्षण कार्यक्रमको आयोजना तथा व्यवस्थापन, आवश्यक प्रशिक्षक तथा कर्मचारी छनोट र तालिम, प्रशिक्षण कार्यक्रमको विकास र कार्यान्वयन, खेलाडी तथा फुटबल सामग्रीको लागत व्यवस्थापन लगायतका जिम्मेवारी तोकिएको उल्लेख छ।
त्यसैगरी, जिल्लाभर फुटबलमा रुचि राख्ने बालबालिका तथा युवालाई प्रशिक्षणमा आकर्षित गर्दै उनीहरूको क्षमता विकासमा योगदान पुर्याउने, वार्षिक योजना तयार गरी कार्यसमितिमा पेश गर्ने तथा धनगढी उपमहानगरपालिकाभित्र सञ्चालन हुने सम्पूर्ण फुटबल प्रशिक्षणको विकास, व्यवस्थापन र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा संघले गरेको छ।
संघले पाण्डेयलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गर्दै आवश्यक सहयोग र सहकार्य सदैव रहने प्रतिबद्धता जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
