निर्वाचन आचारसंहिता कार्यान्वयन कडाइ : ७७ जिल्लाका सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशनकाठमाडौँ। गृह मन्त्रालयले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउन ७७ वटै जिल्लामा तोकिएका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्न परिपत्र जारी गरेको छ।
निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका गतिविधि रोक्न आवश्यक कदम चाल्न तथा त्यस सम्बन्धमा गरिएका कार्यहरूको विवरण नियमित रूपमा मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा प्रभावकारी अनुगमन र कार्यान्वयन सुनिश्चित गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको थियो।
यसैबीच, मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको छ। केन्द्रीय कमाण्ड पोस्टमार्फत निर्वाचन सुरक्षा, आचारसंहिता पालन र समन्वयलाई थप मजबुत बनाइने मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो