सरस्वती माविमा चोरीमा संलग्न एक पक्राउ, अर्का फरार
२०८२ फागुन १३ गते, बुधबार | कैलाली
कैलालीको गौरिगंगा नगरपालिका वडा नं. १० स्थित सरस्वती माध्यमिक विद्यालय मा मंगलबार राति भएको चोरी घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विद्यालयमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा ईलाका प्रहरी कार्यालय मसुरिया ले बुधबार २१ वर्षीय प्रकाश कामीलाई पक्राउ गरेको जनाएको छ। उनी गौरिगंगा नगरपालिका वडा नं. ८ निवासी हुन्। घटनामा संलग्न अर्का २२ वर्षीय प्रकाश बिक भने हाल फरार रहेका छन्।
प्रहरीका अनुसार मंगलबार राति विद्यालय परिसरमा सामान छिजरबिजर पारिनुका साथै दान पेटिका र लेखाफाँटबाट नगद रकम चोरी गरिएको थियो। केही दिनयता गौरिगंगा नगरपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा चोरीका घटना बढ्दै आएका थिए।

सिसिटिभी फुटेजमा देखिएका व्यक्तिले लगाएका कपडासमेत प्रहरीले बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानबाट चोरीमा संलग्न दुई जनामात्र देखिए पनि उनीहरूलाई मोटरसाइकल उपलब्ध गराउने व्यक्ति वडा नं. ९ का १६ वर्षीय प्रेम मन्नी रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो