चुनावी प्रचारमा अवरोध नगर्न निर्वाचन आयोगको कडा आग्रह, उल्लंघन गरे कारबाही चेतावनी
काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा कुनै प्रकारको बाधाअवरोध नगर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई कडा आग्रह गरेको छ।
आयोगले पछिल्लो समय निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार गतिविधिलाई विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। केही दल वा उम्मेदवारका कार्यक्रम अन्य दल, कार्यकर्ता वा व्यक्तिबाट अवरोध गरिएको भन्ने गुनासो प्राप्त भएपछि आयोगले यस्तो कार्य नगर्न स्पष्ट निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (१) (ङ) अनुसार कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध पुर्याउन नहुने व्यवस्था रहेको छ।
त्यसैगरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० (१) (क) अनुसार कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने, थुनछेक गर्ने वा गराउने कार्य दण्डनीय अपराध मानिन्छ।
उक्त कसुर गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ।
आयोगले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको भएको उल्लेख गर्दै प्रचलित संघीय कानुन विपरीतका गतिविधि नगर्न पुनः आग्रह गरेको छ। आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो