You are currently viewing राष्ट्रिय कप्तान ‘साम्बा’को उपचारमा कांग्रेसको आर्थिक सहयोग, केएमसीको निःशुल्क प्रतिबद्धता
WELLINGTON, NEW ZEALAND - SEPTEMBER 17: Sabitra Bhandari poses during the Wellington Phoenix 2025/26 A-League Women's Headshot Session at NZCIS on September 17, 2025 in Wellington, New Zealand. (Photo by Hagen Hopkins/Getty Images for A-Leagues)

राष्ट्रिय कप्तान ‘साम्बा’को उपचारमा कांग्रेसको आर्थिक सहयोग, केएमसीको निःशुल्क प्रतिबद्धता

कैलाली। नेपाली काँग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको विज्ञप्तिमा साम्बा घुँडाको गम्भीर चोटका कारण जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीको तर्फबाट उक्त रकम प्रदान गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ  (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्बाङसँग टेलिफोन संवाद गरी खेलाडी उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेड मा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको उल्लेख गरिएको छ।

कांग्रेस सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा उकास्न महत्वपूर्ण योगदान पुर्‍याएकी चर्चित खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान व्यक्त गर्दै यस्तो कठिन घडीमा सबैले साथ दिनुपर्ने बताएका छन्। उनले पार्टी तथा आफ्नो व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यसैबीच, काठमाडौ मेडिकल कलेज  (केएमसी) ले पनि राष्ट्रिय टोलीकी कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा साम्बाको उपचार सम्पूर्ण रूपमा निःशुल्क गरिने उल्लेख गरिएको छ।

राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान दिँदै आएकी कप्तान साम्बाको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग र सद्भाव व्यक्त भइरहेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner