
धनगढी । सुदूरपश्चिम प्रदेशको दीर्घकालीन फुटबल विकासको जग बसाल्ने उद्देश्यका साथ कैलालीको धनगढीमा ‘यू-१३ (U-13) ग्रासरुट फुटबल फेस्टिभल’ आयोजना हुने भएको छ ।

साना बालबालिका लाई सानै उमेरदेखि खेलकुद प्रति आकर्षित गर्दै प्रतिभा पहिचान गर्ने लक्ष्य सहित फेस्टिभल आयोजना गर्न लागिएको हो ।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लका अनुसार उक्त फेस्टिभल यही २०८३ साल मंसिर ५ गते बिहान ठिक १०:०० बजे धनगढी रंगशालामा सुरु हुनेछ ।

पूर्ण रूपमा खुल्ला र निःशुल्क रहेको यस कार्यक्रममा १३ वर्ष मुनिका बालबालिका, अभिभावक, खेलकर्मी, व्यवसायी लगायत सम्पूर्ण खेलप्रेमीहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

अध्यक्ष मल्लले सुदूरपश्चिमको फुटबल लाई तल्लो तह (ग्रासरुट) बाटै बलियो बनाउन यो फेस्टिभल कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना नानीबाबुहरू लाई लिएर रंगशालामा उपस्थित भई कार्यक्रम सफल पारिदिन सम्पूर्ण अभिभावकहरू लाई आग्रह समेत गर्नुभएको छ ।




