काठमाडौं, २१ कात्तिक। बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलमा सहभागिता नजनाउने भएका छन्।

पोखरा एभेन्जर्स र शाकिबबीच भएको आपसी छलफलपछि उनले प्रतियोगिताका बाँकी खेलबाट बाहिरिने निर्णय गरेका हुन्। पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्दै गएपछि दुवै पक्षबीच यस विषयमा छलफल भएको बताइएको छ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार शाकिब अब संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिगमा सहभागी हुन जानेछन्।शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा शाकिब मैदानमा उत्रिने अपेक्षा गरिएको थियो।

तर, उनी ढिलो गरी काठमाडौं आइपुगेका कारण उक्त खेल खेल्न पाएनन्। अब पोखराले खेल्ने आगामी खेलमा पनि उनी उपलब्ध हुने छैनन्।

यसैबीच, पोखरा एभेन्जर्सका अर्का बंगलादेशी खेलाडी मोहम्मद सैफुद्दिन पनि बंगलादेश ‘ए’ टोलीमा छनोट भएपछि स्वदेश फर्किसकेका छन्।





