धनगढी, कैलाली। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशले आफ्नो तयारी तीव्र बनाएको छ। प्रतियोगितामा प्रदेशको सहभागिता र तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले प्रदेशस्तरीय खेलाडी छनोट कार्यक्रम कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन हुने जानकारी दिए।

उनका अनुसार छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना गरिनेछ।प्रदेशका नौवटै जिल्लाबाट कुल २ हजार ४६४ खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन्।

छनोट प्रक्रियाबाट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै ७४४ जना खेलाडी सहभागी हुने सदस्य–सचिव खड्काले बताए।१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल ३० वटा खेल विधामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

प्रदेशस्तरीय छनोटमार्फत उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउने लक्ष्यसहित परिषद्ले आवश्यक तयारी अघि बढाएको जनाएको छ।



