मोहन्यालमा १४ जना कांग्रेस प्रवेश, गोरख बिष्ट ‘आनन्द’द्वारा स्वागत
कैलाली — मोहन्याल गाउँपालिका–५ कटौजेमा आयोजित चुनावी सभामा विभिन्न राजनीतिक दल परित्याग गरी १४ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी लालबहादुर सार्की, आइते सार्की, गगन घर्तीमगर, जयबहादुर बिक, बेलीदेवी सार्की, किरण बुढामगर र सन्तोष थापामगर कांग्रेसमा प्रवेश गरेका हुन्। त्यस्तै, नेकपा एमाले त्यागेर अनिल घर्तीमगर र सुरज बुढामगर पार्टीमा आबद्ध भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी प्रकाश थापामगर पनि कांग्रेसमा प्रवेश गरेका छन्।
यसैगरी, युवाहरू लक्ष्मण घर्तीमगर, भीमबहादुर घर्तीमगर, हर्क पुन मगर र इन्द्रबहादुर सिजापति समेत नेपाली कांग्रेसमा समाहित भएका छन्।
नवप्रवेशीहरूले कांग्रेसको सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र विकासको एजेन्डाबाट प्रभावित भएर पार्टी रोजेको बताएका छन्। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउन र संगठनलाई थप सशक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवप्रवेशीहरूलाई गोरख बहादुर बिष्ट ‘आनन्द’, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। स्वागत मन्तव्यका क्रममा बिष्टले लोकतन्त्र, समावेशिता र दिगो विकासका लागि कांग्रेस नै भरोसायोग्य शक्ति भएको दाबी गरे।
“जनताको विश्वास र समर्थनले नै पार्टी बलियो बन्छ। आज यहाँ विभिन्न दल त्यागेर आउनु भएका साथीहरूको निर्णयले क्षेत्र नं. ४ मा कांग्रेसप्रतिको भरोसा अझ प्रष्ट भएको छ,” उनले भने।
कटौजेमा बढ्दो कांग्रेस प्रवेशले मोहन्याल क्षेत्रमा चुनावी माहोल थप तातेको छ भने संगठन विस्तारमा नयाँ ऊर्जा थपिएको स्थानीय नेताहरूले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो