You are currently viewing हेमन्त बाजेको नगर सभापतिमा दाबी

हेमन्त बाजेको नगर सभापतिमा दाबी

हेमन्त बाजे क्षेत्रीय प्रतिनिधिमा निर्वाचित, नगर सभापतिमा उम्मेदवारीको तयारी

गौरीगंगा । नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिका सचिव हेमन्त राज जोशी ‘हेमन्त बाजे’ क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। गौरीगंगा नगरपालिका–६ बनबेहडामा सम्पन्न वडा अधिवेशनबाट उनी क्षेत्रीय प्रतिनिधि बनेका हुन्।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै जोशीले अब नगर नेतृत्वका लागि आफ्नो तयारी अघि बढाएका छन्। उनले आगामी नगर अधिवेशनमा गौरीगंगा नगर सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेको बताइएको छ।

जोशीको राजनीतिक सक्रियता २०६० सालदेखि सुरु भएको हो। नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका उनले त्यसयता पार्टीका विभिन्न संगठनात्मक जिम्मेवारी सम्हालिसकेका छन्। वडा तहको सदस्य र सचिवदेखि नगर कार्यसमिति सदस्य तथा सहसचिवको जिम्मेवारी पूरा गर्दै उनी हाल दोस्रो कार्यकालका लागि नगर सचिवको भूमिकामा छन्।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय जोशीले वडा तथा नगर तहमा कार्यकर्ता परिचालन र संगठन विस्तारका गतिविधिमा सहभागिता जनाउँदै आएका छन्। क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सबै प्रतिनिधि तथा कांग्रेसका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

आफ्नो आगामी राजनीतिक प्राथमिकताबारे बोल्दै जोशीले पार्टीभित्र सहकार्य र समन्वयलाई महत्व दिने बताएका छन्। नगर सभापतिको जिम्मेवारी पाएमा सबै पक्षलाई समेटेर संगठनलाई थप सक्रिय बनाउने उनको भनाइ छ।

«“सबैलाई मिलाएर, सबैको भावना समेटेर संगठनलाई चलायमान बनाउँदै अघि बढ्ने मेरो प्राथमिकता हुनेछ,” जोशीले भने।»

उनले वडा तहको संगठनलाई थप प्रभावकारी बनाउने, कार्यकर्ताको सक्रियता बढाउने, पार्टी संरचनालाई व्यवस्थित बनाउने तथा युवालाई कांग्रेसको संगठनमा थप जिम्मेवारीसहित जोड्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि जोशीको नगर सभापतिमा उम्मेदवारी दिने तयारीले औपचारिक रूप लिन थालेको छ। आगामी नगर अधिवेशनमा हुने नेतृत्व चयनसँगै गौरीगंगा कांग्रेसको संगठनात्मक दिशाबारे पनि चासो बढेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner