You are currently viewing एमालेका जिल्ला सल्लाहकार धामीसहित दुई नेता कांग्रेसमा प्रवेश, चुरेमा राजनीतिक तरंग

एमालेका जिल्ला सल्लाहकार धामीसहित दुई नेता कांग्रेसमा प्रवेश, चुरेमा राजनीतिक तरंग

एमालेका जिल्ला सल्लाहकार धामीसहित दुई नेता कांग्रेसमा प्रवेश, चुरेमा राजनीतिक तरंग

अत्तरिया, कैलाली — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सल्लाहकार सदस्य वीरेन्द्र धामीसहित दुई जनाले एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मंगलबार चुरे गाउँपालिका–६, गजारमा आयोजित कांग्रेसको चुनावी सभामा धामीसँगै कमलेशसिंह महरा औपचारिक रूपमा पार्टीमा समाहित भएका हुन्। चुनावी माहोल तातेको समयमा भएको यस प्रवेशलाई चुरे क्षेत्रको राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

नवप्रवेशीहरूलाई कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै बिष्टले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी सोच र समाजवाद उन्मुख नीतिका कारण कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरे। उनले पार्टीमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई सम्मानजनक भूमिका दिइने विश्वास दिलाए।

एमाले परित्याग गर्ने क्रममा धामीले आफू लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि सधैं अपहेलित महसुस गर्नुपरेको बताए। “नेतृत्वले चुनावको समयमा मात्र प्रयोग गर्ने र त्यसपछि बेवास्ता गर्ने प्रवृत्ति देखियो,” उनले भने, “त्यसैले जनताको भावना र समावेशी समाजवादको नीति बोकेको कांग्रेस रोजेको हुँ।”

कमलेशसिंह महराले पनि समान धारणा व्यक्त गर्दै एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाए। उनले कांग्रेसको नीतिगत स्पष्टता र जनमुखी कार्यक्रमले आफूलाई प्रभावित पारेको उल्लेख गरे।

स्थानीय कांग्रेस नेताहरूले धामी र महराको प्रवेशले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय चुरे क्षेत्रमा विभिन्न राजनीतिक दलबाट कांग्रेस प्रवेशको क्रम बढ्दै गएको र यसले आगामी निर्वाचनमा सकारात्मक सन्देश दिने उनीहरूको भनाइ छ।

चुनावी सभामा स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै मतदातासँग कांग्रेसलाई समर्थन गर्न आग्रह गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner