सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब सञ्चालनमा, आगामी सत्रदेखि चिकित्सा पढाइ सुरु
धनगढी — सुदूरपश्चिम प्रदेशका लागि बहुप्रतीक्षित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। धनगढीको गेटास्थित विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको चौथो बैठकले चार वटा सङ्कायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो। बैठकले विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ।
विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि नै कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछ। निर्णयअनुसार एमबिबिएसमा ५०, बीएस्सी नर्सिङमा ३०, बीएमएलटीमा २० र अप्टोमेट्रीमा २० जना विद्यार्थी भर्ना गरिनेछ।

यससँगै ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालनको तयारीसमेत अघि बढाइएको छ। विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत सरकारले सुनिश्चित गरिसकेको छ। शिक्षा मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ भने चालु आर्थिक वर्षका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट उपलब्ध भइसकेको छ। आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

आजको सिनेट बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनयन गरेको भए पनि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। यसअघि विश्वविद्यालयका तीन बैठक काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो।
कानुनी व्यवस्थाअनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा सभा गठन गरिएको छ, जसको अध्यक्ष शिक्षामन्त्री रहने प्रावधान छ। सभामा स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ। साथै, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्त सदस्यका रूपमा मनोनयन भइसकेका छन्।

गोदावरी नगरपालिका–५ मा करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयमा हालसम्म नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ। ४२ वटा भवन निर्माण सम्पन्न भइसकेका छन्। २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको थियो।
मन्त्री पोखरेलले आवश्यक बजेट सुनिश्चित भइसकेकाले आगामी शैक्षिक सत्रदेखि जसरी पनि पठनपाठन सुरु हुने स्पष्ट पारे। उनले यो परियोजना देशकै गौरवको योजना भएकाले कार्यान्वयनमा कुनै ढिलाइ नहुने बताए।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य आनन्द चन्दले विश्वविद्यालय सञ्चालनले सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। यसले क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। साथै, उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता कम भई क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो