You are currently viewing मोटरसाइकल दुर्घटनामा घाइते ७ वर्षीय बालकको मृत्यु, घटनाबारे थप अनुसन्धान जारी

मोटरसाइकल दुर्घटनामा घाइते ७ वर्षीय बालकको मृत्यु, घटनाबारे थप अनुसन्धान जारी

धनगढी — कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

मृतक गौरीगंगा नगरपालिका–४ निवासी तथा द ग्रीन स्टार इङ्ग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत आरभ बोहरा रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार निसर्ग अस्पतालमा उपचाररत बालकको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। घटनामा संलग्न मोटरसाइकल चालक सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकसँग वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि मृतकका परिवारले विद्यालयले निर्धारित समयभन्दा अगावै विद्यार्थीलाई बाहिर पठाएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्। विद्यालय प्रशासनले भने बालकलाई अभिभावक पक्षसँग समन्वयमै पठाइएको दाबी गर्दै लापरवाही भएको आरोप अस्वीकार गरेको छ।

प्रहरीले सडक दुर्घटनाको कारण, विद्यालयको भूमिका तथा परिवारले उठाएका विषयसमेत समेटेर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner