नेपाली काँग्रेस कैलाली–५ का उम्मेदवार नर नारायण शाह ‘मनु’को अपिल: “अबको १५ दिन पार्टीको लागि समर्पित गरौं”
धनगढी — नर नारायण शाह‘मनु’, प्रतिनिधिसभा सदस्यका उम्मेदवार, कैलाली क्षेत्र नं. ५, ले आगामी १५ दिन पार्टी र उम्मेदवारहरूको विजयका लागि पूर्ण समर्पित हुन कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भावनात्मक अपिल गर्नुभएको छ।
शाहले निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला आफूले पार्टी संगठनका गतिविधिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विगतमा जिल्ला स्तरका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दा सही र तथ्यपरक सूचना प्राप्त गर्न विभिन्न प्रयासहरू गरेको स्मरण गर्नुभयो। ती अनुभवहरू अहिले पार्टीले सामना गरिरहेको चुनौतीपूर्ण अवस्थामा उपयोगी सावित भइरहेको उहाँको भनाइ छ।
उहाँले पार्टीभित्र देखिएको असन्तुष्टि, असहयोग र सम्पर्कविहीनताप्रति चिन्ता व्यक्त गर्दै प्रश्न गर्नुभयो, “यस्तो संकटको घडीमा संगठनप्रति हाम्रो पनि केही जवाफदेहिता र जिम्मेवारी बन्दैन र?”
विगतका असमझदारीलाई थाती राख्दै अहिले सिंगो पार्टी आफ्नो अस्तित्वको लडाइँमा रहेको उल्लेख गर्दै शाहले सबैलाई एकजुट भएर सकारात्मक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो।
“यी तमाम चुनौतीसँग जुध्न हामी सबै गम्भीर बनौं, र पार्टी तथा सम्बन्धित सबै उम्मेदवारहरूको विजय सुनिश्चित गर्न हातेमालो गरौं,” उहाँको अन्तरहृदयदेखिको अपिल रहेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो