कैलाली–४ ‘क’ को प्रदेश सभापतिमा गगन बमको उम्मेदवारी

गौरीगंगा, कैलाली। नेपाली कांग्रेसका युवा नेता तथा कैलाली क्षेत्र नं. ४ ‘क’ का निवर्तमान कार्यसमिति सचिव गगन बमले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ४ ‘क’ को प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बमले आफ्नो राजनीतिक यात्रा वडा तहबाट सुरु गर्दै क्षेत्रीय तहसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई आगामी नेतृत्वका लागि आधार बनाएका छन्। संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने तथा अग्रजको अनुभवलाई सम्मान गर्दै अघि बढ्ने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

कैलाली क्षेत्र नं. ४ ‘क’ अन्तर्गतका विभिन्न वडा तथा पार्टी संगठनमा बमले निर्वाह गरेको भूमिकाका आधारमा युवा पुस्ता र अग्रज नेताहरूबाट समेत उनको उम्मेदवारीप्रति सकारात्मक समर्थन रहेको बताइएको छ। पार्टीमा पुस्तान्तरणसँगै अनुभव र ऊर्जाबीचको समन्वय आवश्यक रहेको भन्दै उनका समर्थकहरूले बमको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरेका छन्।

यसैबीच, बमले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ४ ‘क’ का १६ वटै वडाबाट निर्वाचित वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले महाधिवेशन प्रतिनिधिहरूसँग संगठनलाई थप मजबुत बनाउने अभियानमा सहकार्य गर्न आग्रह गर्दै आफूलाई प्रदेश सभापतिमा निर्वाचित गराउन सहयोग र समर्थनका लागि अपिल गरेका छन्।

बमले भनेका छन्, “कैलाली क्षेत्र नं. ४ ‘क’ को संगठनलाई अझ मजबुत, गतिशील र सबैलाई समेट्ने बनाउन मेरो उम्मेदवारी हो। सम्पूर्ण प्रतिनिधिज्यूहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छु।”
अब कैलाली क्षेत्र नं. ४ ‘क’ को प्रदेश सभापति पदका लागि हुने निर्वाचनमा बमसहित अन्य आकांक्षीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो