पूर्णबहादुर हमालद्वारा कांग्रेस केन्द्रीय सदस्य (युरोप) मा उम्मेदवारी, १० बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर हमालले आफ्नो उम्मेदवारी घोषणा गर्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
लामो समयदेखि लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेसको संगठन विस्तार तथा प्रवासमा रहेका नेपालीलाई पार्टीसँग जोड्ने अभियानमा सक्रिय रहँदै आएका हमालले पार्टीलाई समयानुकूल, संगठित, पारदर्शी र प्रवासी नेपालीमैत्री बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

हमाल नेपाली कांग्रेस जनसम्पर्क समिति, पोर्चुगलका संस्थापक अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति युरोपका संस्थापक वरिष्ठ उपाध्यक्षसमेत हुन्। उनले विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेको र विभिन्न चरणमा पार्टी संगठन निर्माण तथा सुदृढीकरणमा भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
लोकतान्त्रिक आन्दोलनदेखि कांग्रेस संगठनसम्म
हमालका अनुसार उनले विद्यार्थी जीवनदेखि पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलन तथा नेपाली कांग्रेसका सत्याग्रह लगायतका लोकतान्त्रिक अभियानमा सक्रिय सहभागिता जनाएका थिए। वि.सं. २०४५–०४६ को जनआन्दोलनका क्रममा बागलुङ जिल्ला सदस्यका रूपमा सक्रिय रहँदा उनले गिरफ्तारी तथा यातनासमेत भोगेको प्रतिबद्धता पत्रमा उल्लेख छ।
माओवादी द्वन्द्वका कारण नेपाल फर्कन नसकेको अवस्थामा पनि उनी युरोपमा नेपाली कांग्रेसको संगठन विस्तार, कार्यकर्ता एकीकरण तथा पार्टी सुदृढीकरणमा निरन्तर सक्रिय रहेको बताइएको छ।

प्रवासमा कांग्रेस संगठन विस्तारमा भूमिका
हमालले सन् २००६ मा जर्मनीको बर्लिनमा तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाको निर्देशन तथा तत्कालीन विदेश विभाग प्रमुख सुजाता कोइरालाकाे प्रमुख आतिथ्यमा नेपाली जनसम्पर्क समिति तथा युरोप समन्वय समिति गठन विस्तारका विभिन्न अभियानमा उनले निरन्तर महत्त्व भूमिका योगदान दिदै आएका छन्।

त्यस नेपाली जनसम्पर्क समिति गठन तथा विस्तारमा संस्थापक अध्यक्षका रूपमा रहेर युरोप भर संगठन विस्तारमा निरन्तर योगदान गरेको उनको दाबी छ। नेपाली कांग्रेसकाे नेपाली जनसम्पर्क समिति सम्बन्धी विभागको केन्द्रिय समिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गर्दै उनले प्रवासमा रहेका नेपाली लाई पार्टीसंग जोड्ने र संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका छन्।त्यस्तै, नेपाली कांग्रेस जनसम्पर्क समिति, पोर्चुगलको संस्थापक अध्यक्षका रूपमा सन् २००६ मै संगठन स्थापना, विस्तार र नेपाली समुदायलाई पार्टीसँग जोड्ने कार्यमा सक्रिय रहेको उनले बताएका छन्।
१० बुँदे प्रतिबद्धता
केन्द्रीय सदस्य (युरोप) पदका उम्मेदवार हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विभिन्न १० वटा प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उनका प्रमुख प्रतिबद्धतामा—
1.विद्यार्थी जीवनदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रियता र निरन्तरता।
2.लोकतान्त्रिक आन्दोलन तथा पार्टीका अभियानमा निरन्तर सक्रिय रहने।
3.युरोपमा नेपाली कांग्रेसको संगठन विस्तार, कार्यकर्ता एकीकरण र पार्टी सुदृढीकरणमा निरन्तर योगदान गर्ने।
4.‘विश्वव्यापी नेपाली कांग्रेस सञ्जाल’को अवधारणामार्फत विश्वभरका कांग्रेस नेता–कार्यकर्तालाई एकीकृत गर्ने।
5.युरोपमा महादेशीय संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने।
6.पोर्चुगलस्थित नेपाली जनसम्पर्क समितिको संस्थागत विकास र विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने।
7.प्रवासमा रहेका नेपालीलाई कांग्रेससँग जोड्दै संगठन विस्तार र सुदृढीकरणमा निरन्तर योगदान गर्ने।
8.नेपाली कांग्रेसको केन्द्रीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै प्रवासका नेपालीलाई पार्टीसँग जोड्ने।
9.महासमिति सदस्यका रूपमा पार्टीको नीति, संगठन र लोकतान्त्रिक अभियानमा सक्रिय रहने।
10.प्रवासी नेपालीको ज्ञान, सीप, कला र अनुभवलाई नेपालको विकास तथा समृद्धिसँग जोड्दै कांग्रेसमार्फत योगदान गर्ने।

हमालले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र क्षमतालाई नेपालको विकाससँग जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन्। प्रवासी नेपालीलाई केवल मतदाता वा आर्थिक स्रोतका रूपमा नभई पार्टी र राष्ट्र निर्माणका साझेदारका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पनि प्रवासमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई थप संगठित गर्दै पार्टीलाई विश्वव्यापी रूपमा बलियो बनाउने अभियानका रूपमा अघि सारेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो