नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ। यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ।
दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम भएको छ।
निगमका अनुसार अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ। भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँले भाउ बढाएर नयाँ मूल्य पठाए पनि उपभोक्तालाई कम असर पर्ने गरी नेपालमा सीमित मात्रामा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिँदा त्यसको प्रभाव नेपालमा पनि परेको हो। भारतबाट उच्च मूल्यमा इन्धन आयात भए पनि उपभोक्तामा ठूलो भार नपरोस् भन्ने उद्देश्यले मूल्य स्थिरीकरण कोष तथा विगतको नाफाबाट केही रकम बेहोरेर इन्धनको मूल्य धेरै नबढाइएको निगमले स्पष्ट पारेको छ।
#PetrolPrice #FuelPrice #NepalOilCorporation #NepalNews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो