हेमा श्री फाउन्डेसन नेपालको दोस्रो स्थापना दिवसमा २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बैशाख १२, बनबेहडा।
हेमा श्री फाउन्डेसन नेपालले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
फाउन्डेसनले आर्थिक अवस्था कमजोर रहेका २५ जना विद्यार्थीलाई झोला, कापी र कलम प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो।
संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बम प्रमुख अतिथि रहनुभएको थियो। यस्तै, वडा नं–६ का अध्यक्ष टेक बहादुर कुँवर, महिला बालबालिका तथा सेभ हाउस अध्यक्ष जानकी मलासी र अमर माध्यमिक विद्यालयका अध्यक्ष दान बहादुर कुँवर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै उपप्रमुख बमले फाउन्डेसनले विपन्न र असहाय वर्गका लागि गर्दै आएको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै विशेषगरी विद्यार्थीहरूलाई सहयोग गर्नु अत्यन्त सराहनीय कार्य भएको बताउनुभयो।
सहभागीहरूले परोपकार नै सबैभन्दा ठूलो पुण्य भएको भन्दै सामाजिक सेवामा निरन्तर लागिरहन आग्रह गरेका थिए।
फाउन्डेसनका अनुसार यस संस्थाले असहाय बालबालिका, उपचार अभावमा रहेका बिरामी तथा मृगौला पीडितहरूलाई सहयोग गर्दै आएको छ। साथै, बाँकेको बागेश्वरी असहाय बाल संरक्षण केन्द्रसँग सहकार्य गरी अनाथ बालबालिकाको पालनपोषणसमेत सुरु गरिएको जानकारी दिइएको छ।

कार्यक्रममा दृष्टि ग्रामीण विद्युत सहकारीका अध्यक्ष वीर बहादुर शाह, नवदुर्गा सामुदायिक वनका अध्यक्ष चिरञ्जीवी छेडाल, विभिन्न विद्यालयका शिक्षक तथा फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
अमर माध्यमिक विद्यालय, कैलाली भिजन स्कुल, बिणा विद्या मन्दिर स्कुल, जुपिटर स्कुल र भैरव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको हो।
सामग्री पाएपछि विद्यार्थीहरूले खुशी व्यक्त गर्दै फाउन्डेसनप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रमको सञ्चालन फाउन्डेसनका सचिव चक्रजित रावलले गर्नुभएको थियो भने वार्षिक प्रतिवेदन र स्वागत मन्तव्य सभाध्यक्ष हेमन्त राज जोशीले प्रस्तुत गर्नुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो