सुकुम्बासीहरूको समस्या समाधान पहिलो प्राथमिकता : हरिराम चौधरी ‘उत्सव’
कैलाली — नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट कैलाली क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिराम चौधरी ‘उत्सव’ले सुकुम्बासी तथा भूमिहीन नागरिकहरूको समस्या समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।
एक चुनावी भेटघाट कार्यक्रममा बोल्दै उनले वर्षौंदेखि जग्गा, लालपुर्जा र आवासको समस्या झेल्दै आएका नागरिकलाई अब अन्यायमा राख्न नहुने स्पष्ट पारे। “भूमिहीन र सुकुम्बासी नागरिकलाई सम्मानजनक जीवनयापनको आधार दिनु राज्यको दायित्व हो,” उनले भने, “यसका लागि आवश्यक समन्वय, पहल र दबाब सिर्जना गर्न म सधैं अग्रसर रहनेछु।”
चौधरीका अनुसार सुकुम्बासीहरूको यथार्थ तथ्यांक संकलन, कानुनी जटिलता समाधान र व्यवस्थित बसोबास सुनिश्चित गर्न ठोस पहल गरिनेछ। अव्यवस्थित बसोबासका कारण शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार सेवाबाट वञ्चित नागरिकलाई प्राथमिकतामा राखेर योजनाबद्ध कार्यक्रम अघि बढाइने उनले बताए।
स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय गरी दीर्घकालीन र व्यवहारिक समाधान निकाल्ने प्रतिबद्धता जनाउँदै चौधरीले सुकुम्बासी समस्या राजनीतिक नारामा सीमित नराखी कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे। उनले सबै सरोकारवाला पक्षलाई सहकार्यका लागि आह्वानसमेत गरेका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो