बजेट सुनिश्चित भएसँगै गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनतर्फ
धनगढी, कैलाली
कैलालीको गेटामा निर्माण सम्पन्न भएर पनि लामो समयदेखि सञ्चालनमा आउन नसकेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएको छ। आवश्यक बजेट सुनिश्चित भएसँगै विश्वविद्यालयमा पठनपाठन सुरु हुने तयारी अघि बढेको हो।

नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रिपरिषद् बैठकबाट उक्त विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको थियो। करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यस परियोजनामा छ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने ४२ वटा भवन निर्माण भइसकेका छन्।

कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको जानकारी दिँदै आगामी शैक्षिक सत्रदेखि अध्ययन–अध्यापन सुरु हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार प्रारम्भिक चरणमा करिब ५० जना विद्यार्थीलाई एमबिबिएस वा अन्य चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक विधेयक भने विगत दुई वर्षदेखि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको छ। तथापि, नयाँ सरकारले कानुनी तथा व्यावहारिक प्रक्रिया छिटो टुंग्याएर शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको जनाइएको छ।
कैलाली क्षेत्र नं. ४ का सांसद खेमराज कोइरालाका अनुसार विश्वविद्यालय सञ्चालनका लागि करिब दुई अर्ब ५८ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ। साथै, प्रधानमन्त्री बालेन्द्र शाहले यस परियोजनालाई प्राथमिकतामा राख्दै कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसअघि नै सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गर्ने प्रक्रिया अगाडि बढिसकेको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीका अनुसार नयाँ शैक्षिक सत्रदेखि चारवटा संकायमा पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको छ।

यसैबीच, विश्वविद्यालय सभाको पहिलो बैठक आगामी २५ गते विश्वविद्यालय परिसरमै बस्ने तयारी गरिएको छ। बैठकमा नियमावली, आर्थिक तथा खरिद सम्बन्धी कार्यविधि र अन्य नीतिगत विषयमा छलफल हुने जनाइएको छ।
लामो समयदेखि प्रतीक्षामा रहेको यस परियोजना सञ्चालनमा आउन थालेपछि सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य तथा उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो