धनगढी–५ मा खुला नालीले बढायो दुर्घटनाको जोखिम, वडा अध्यक्ष शाहीद्वारा तत्काल निर्माणको माग
धनगढी, कैलाली । धनगढी उपमहानगरपालिका–५ अन्तर्गत एडीबीको पहिलो चरणमा निर्माण गरिएको सडक खण्डमा लामो समय देखि नाली खुला रहँदा स्थानीयवासी, विद्यार्थी तथा सर्वसाधारणको आवतजावत जोखिम पूर्ण बनेको छ।
वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र विक्रम शाहीले उक्त सडकमा नालीको ढकनी नहुँदा, सडक भत्किँदै गएको तथा निर्माण कार्यको गुणस्तरप्रति समेत प्रश्न उठेको बताएका छन्। विशेषगरी बर्खायाममा दैनिक हजारौँ विद्यार्थी र सर्वसाधारणले ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
यस अघि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि आवश्यक काम अघि नबढेपछि वडा अध्यक्ष शाहीले बुधबार सहरी विकास तथा भवन निर्माण विभाग, क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका प्रमुखसँग भेट गरी नालीमा तत्काल ढकनी निर्माण कार्य सुरु गर्न औपचारिक रूपमा अनुरोध गरेका छन्।

शाहीले जनताको सुरक्षाभन्दा ठूलो प्राथमिकता अर्को कुनै हुन नसक्ने उल्लेख गर्दै समयमै आवश्यक काम सम्पन्न नभए ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्। सम्भावित मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी सम्बन्धित निकायले वहन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
स्थानीयवासीले पनि सडकको जीर्ण अवस्था र खुला नालीका कारण दैनिक आवतजावतमा कठिनाइ भोग्नुपरेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायले ढिलाइ नगरी सडक मर्मत तथा नालीमा ढकनी निर्माण कार्य अघि बढाउन माग गरेका छन्।
जनप्रतिनिधि र स्थानीयवासीले जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै समस्या समाधानका लागि सम्बन्धित निकायको शीघ्र पहल आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो