You are currently viewing कोहलपुर नगर खेलकुद विकास समितिद्वारा चौमाला स्पोर्ट्स क्लबको अवलोकन, खेल सामग्री हस्तान्तरण

कोहलपुर नगर खेलकुद विकास समितिद्वारा चौमाला स्पोर्ट्स क्लबको अवलोकन, खेल सामग्री हस्तान्तरण

कोहलपुर  नगर खेलकुद विकास समितिको अवलोकन भ्रमण , चौमाला स्पोर्टस् क्लबका खेलाडीहरु र क्लवका पदाधिकारी संग भेटघाट भएको छ।

गौरिगंगा,कैलाली । “सिकाई आदानप्रदान तथा अवलोकन भ्रमण २०८३” अन्तर्गत कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक तथा रेसिङ्ग सहारा क्लबका अध्यक्ष  चक्र चिमाला क्षेत्रीको नेतृत्वमा आएको टोलीले चौमाला स्पोर्ट्स क्लबको खेलमैदान, खेल पूर्वाधार तथा खेलाडीहरूको गतिविधिको अवलोकन गरेको छ।

भ्रमणका क्रममा टोलीले क्लबद्वारा सञ्चालन हुँदै आएका खेलकुद गतिविधि, खेलाडी उत्पादन, प्रशिक्षण प्रणाली तथा स्थानीय स्तरमा खेलकुद विकासका लागि भइरहेका प्रयासबारे जानकारी लिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्नुका साथै आवश्यक खेल सामग्री हस्तान्तरण गरेका थिए।

अवलोकन भ्रमण टोलीमा  विक्की गुबाजु,  चन्द्र श्रेष्ठ,  निर्मल विष्ट,  टेकनाथ तिमिल्सिना,  मानबहादुर थापा तथा  ध्रुव शर्मा लगायतको सहभागिता रहेको थियो। टोलीले चौमाला स्पोर्ट्स क्लबले सीमित स्रोत–साधनका बीच पनि स्थानीय खेलकुद विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

चौमाला स्पोर्ट्स क्लबले पनि आगन्तुक टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यस्तो प्रकारको सिकाई आदानप्रदान तथा अवलोकन भ्रमणले स्थानीय खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा संस्थागत सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

क्लबका पदाधिकारीहरूका अनुसार यस्ता भ्रमण र अन्तरक्रियाबाट खेलाडीहरूमा थप ऊर्जा, प्रेरणा तथा सकारात्मक सोचको विकास हुने भएकाले आगामी दिनमा समेत विभिन्न जिल्लाका खेलकुद संस्थासँग सहकार्य गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाइने योजना रहेको छ।

स्थानीय स्तरमा खेलकुदमार्फत अनुशासन, नेतृत्व विकास तथा युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यसहित चौमाला स्पोर्ट्स क्लबले विभिन्न फुटबल प्रतियोगिता, प्रशिक्षण तथा खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner