कैलालीमा एन्फा कम्युनिटी कोर्स सम्पन्न, ४२ जना नयाँ फुटबल प्रशिक्षक उत्पादन

धनगढी, असार ९ – कैलाली जिल्ला फुटबल संघको आयोजनामा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोग र सुदूरपश्चिम खेलकुद परिषद्को प्रवर्द्धनमा सञ्चालन भएको पाँचदिने एन्फा कम्युनिटी कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। तालिमबाट ४२ जना नयाँ फुटबल प्रशिक्षक उत्पादन भएका छन्।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षकको भूमिका, समुदायमा नयाँ प्रतिभाको पहिचान, खेलाडी विकासका आधारभूत पक्ष तथा फुटबलसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिएको प्रमुख प्रशिक्षक सञ्जित सिंह ले जानकारी दिए। तालिममा एन्फाका प्रशिक्षक चेत नारायण श्रेष्ठ ले समेत सहजीकरण गरेका थिए।





कैलाली, बैतडी, बुटवल, पाल्पा र काठमाडौंका गरी ४२ जना सहभागी रहेको उक्त तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक सञ्जित सिंहले देशभरका फुटबल संघहरूमध्ये कैलाली जिल्ला फुटबल संघलाई सबैभन्दा सक्रिय, जुझारु र फुटबल विकासप्रति समर्पित संस्था पाएको बताए। उनले गतिविधि, आतिथ्यता र व्यवस्थापनका हिसाबले समेत कैलालीको कार्यशैली प्रशंसनीय रहेको उल्लेख गरे।

समापन समारोहका प्रमुख अतिथि लोक बहादुर खड्का ले कैलाली जिल्ला फुटबल संघ प्रदेशकै उत्कृष्ट कार्यसम्पादन गर्ने संघमध्ये एक रहेको बताए। उनले निकट भविष्यमा कैलालीमा ठूलो फुटबल प्रतियोगिता आयोजना गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न सुदूरपश्चिम खेलकुद परिषद तयार रहेको बताए।

अनिल मल्ल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम फुटबल संघका उपाध्यक्ष बिनोद बिष्ट, कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष ब्रिकम बिष्ट, पूर्व राष्ट्रिय खेलाडी शंकर खड्का लगायत विभिन्न खेलकुदकर्मी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्र ले गरेका थिए।

तालिम सम्पन्नसँगै सुदूरपश्चिममा फुटबल प्रशिक्षक उत्पादन र खेल विकासको अभियानले थप गति लिएको अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो