एमालेका पूर्व नगर सचिव प्रेम सवाल काँग्रेसमा प्रवेश, दलित अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता
कैलाली — नेपाल दलित संघ गौरिगंगा नगर समितिद्वारा आयोजित गौरिगंगा नगरपालिका स्तरीय निर्वाचन केन्द्रित अन्तर्क्रिया कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस प्रदेश सभापति बिर बहादुर बलायर तथा विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ सहभागी रहेका थिए।
कार्यक्रमका क्रममा नेकपा एमालेका पूर्व नगर सचिव प्रेम सवालले एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। उनलाई प्रमुख अतिथि बलायर र उम्मेदवार विष्टले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। सवालको प्रवेशसँगै गौरिगंगामा काँग्रेसको संगठन थप सशक्त बनेको नेताहरूले बताएका छन्।
अन्तर्क्रिया कार्यक्रममा दलित समुदायका अगुवाहरूले शिक्षा, रोजगारी, स्वास्थ्य, भूमिको स्वामित्व, सामाजिक विभेद अन्त्य तथा राजनीतिक प्रतिनिधित्व जस्ता विषयमा आफ्नो धारणा राखेका थिए। वक्ताहरूले अझै पनि दलित समुदायले विभिन्न क्षेत्रमा भोगिरहेका संरचनात्मक समस्या समाधानका लागि स्पष्ट नीति र व्यवहारिक योजना आवश्यक रहेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बलायरले दलित समुदायको अधिकार सुनिश्चित गर्नु काँग्रेसको प्राथमिक एजेण्डा भएको उल्लेख गरे। उनले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको पूर्ण कार्यान्वयनका लागि पार्टी प्रतिबद्ध रहेको बताए।
त्यस्तै, उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ले दलितका समस्या र मागलाई विशेष एजेण्डाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले दलित सशक्तीकरण, सीप विकास कार्यक्रम, छात्रवृत्ति विस्तार, स्वरोजगार प्रवर्द्धन तथा सामाजिक न्याय स्थापना आफ्नो चुनावी प्राथमिकतामा रहेको स्पष्ट पारे। “दलित समुदायको सम्मान, अधिकार र समान अवसर सुनिश्चित नगरी समृद्ध समाज निर्माण सम्भव छैन,” उनले भने।
कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराई समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प व्यक्त गरेका थिए। कार्यक्रममा नगरस्तरीय नेता, कार्यकर्ता, दलित अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो