You are currently viewing पेनाल्टी सुटआउटमा सैपाललाई हराउँदै घोडाघोडी बन्यो प्रथम मेयर कप महिला फुटबलको च्याम्पियन

पेनाल्टी सुटआउटमा सैपाललाई हराउँदै घोडाघोडी बन्यो प्रथम मेयर कप महिला फुटबलको च्याम्पियन

पेनाल्टी सुटआउटमा सैपाललाई हराउँदै घोडाघोडी बन्यो प्रथम मेयर कप महिला फुटबलको च्याम्पियन

अत्तरिया, कैलाली । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम मेयर कप खुला महिला फुटबल प्रतियोगिता को उपाधि घोडाघोडीले जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक सैपाल युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घोडाघोडी च्याम्पियन बनेको हो।

सैपाल युवा क्लबको आयोजनामा जेठ २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कैलालीका १२ टोलीको सहभागिता रहेको थियो। उपाधिसँगै विजेता घोडाघोडीले नगद रु. १ लाख ११ हजार १११, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सैपाल युवा क्लबले नगद रु. ५५ हजार ५५५, ट्रफी र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट ले महिला खेलाडीलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले खेलकुदले प्रतिभा विकास, राष्ट्रिय पहिचान निर्माण तथा आर्थिक अवसर सिर्जना गर्ने उल्लेख गर्दै महिला खेलकुदलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नगर प्रमुख भट्टले आफ्नो चार वर्षे कार्यकालमा नगरपालिकाको स्वामित्वमा उपयुक्त जग्गाको अभावका कारण रंगशाला निर्माण गर्न नसकेको अनुभूति पनि व्यक्त गरे।

कार्यक्रममा सैपाल युवा क्लबका अध्यक्ष रमेश बोगटीले सीमित आर्थिक स्रोतका कारण खेलकुद प्रतियोगिता सञ्चालन चुनौतीपूर्ण बन्दै गएको बताउँदै स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

“महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान” भन्ने नारासहित आयोजित प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको थियो भने विभिन्न संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग गरेका थिए। प्रतियोगिताले महिला फुटबलको विकास र खेलाडीहरूको मनोबल बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner