You are currently viewing धनगढीमा ग्रासरुट फुटबलको विस्तार: १९ वटै वडामा प्रशिक्षण, ५ हजार बालबालिका लाभान्वित हुने लक्ष्य

धनगढीमा ग्रासरुट फुटबलको विस्तार: १९ वटै वडामा प्रशिक्षण, ५ हजार बालबालिका लाभान्वित हुने लक्ष्य

धनगढीमा ग्रासरुट फुटबलको विस्तार: १९ वटै वडामा प्रशिक्षण, ५ हजार बालबालिका लाभान्वित हुने लक्ष्य

धनगढी कैलाली:

धनगढी उपमहानगरपालिकाले बालबालिकाको प्रतिभा पहिचान र खेलकुद विकासलाई प्राथमिकता दिँदै ग्रासरुट स्तरीय फुटबल कार्यक्रमलाई व्यापक बनाएको छ। गत वर्ष चार विद्यालयबाट सुरु गरिएको कार्यक्रम यस वर्ष थप १२ स्थानमा विस्तार गरिएको छ भने आगामी चरणमा १९ वटै वडामा सञ्चालन गर्ने योजना बनाइएको छ।

उपमहानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत फागुन १ गतेदेखि औपचारिक रूपमा प्रशिक्षण सुरु गरिएको हो। प्रत्येक वडामा कम्तीमा एक खेल मैदानमा नियमित अभ्यास सञ्चालन भइरहेको छ। बालबालिकालाई अध्ययनसँगै खेलकुदमा सक्रिय बनाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।

खेलकुद शाखा प्रमुख केशव खत्रीका अनुसार धनगढीका विभिन्न स्थानमा हालसम्म २१ वटा फुटबल मैदान तयारी अवस्थामा छन्। “ग्रासरुट फुटबलसँगै क्रिकेट कार्यक्रम पनि सुरु गरेका छौं। बालबालिकालाई आधारभूत सीपदेखि खेल सम्बन्धी सैद्धान्तिक ज्ञानसम्म प्रदान गरिनेछ,” उनले बताए।

गत वर्ष वडा नं. ७ को राष्ट्रिय माध्यमिक विद्यालय पटेला, वडा नं. ११ को दक्षिणकाली बहिरा आधारभूत विद्यालय, वडा नं. १६ को घसिटा र वडा नं. १८ को चन्द्रोदय माध्यमिक विद्यालयबाट कार्यक्रम सुरु भएको थियो।

यस वर्ष भने वडा नं. १ को कभर्डहल खेल मैदान, वडा नं. २ को सुक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नं. ३ को प्रस्तावित बसपार्क क्षेत्र, वडा नं. ५ को श्रीकृष्ण खेल मैदान, वडा नं. ६ को धनगढी पोलिटेक्निक, वडा नं. १२ को मनकामना युवा क्लब, वडा नं. १३ को जनता राष्ट्रिय मावि क्षेत्र, वडा नं. १४ को टाउन प्लानिङ क्षेत्र, वडा नं. १७ को पथरी पुल नजिक, वडा नं. १८ को प्रस्तावित स्टेडियम र वडा नं. १९ को सुर्मादेवी युवा क्लब लगायतका स्थानमा प्रशिक्षण सञ्चालन भइरहेको छ।

कार्यक्रममार्फत करिब पाँच हजार विद्यालय उमेरका बालबालिकालाई समेट्ने लक्ष्य राखिएको छ। खेल्न इच्छुक सम्पूर्ण बालबालिकालाई समावेशी ढंगले प्रशिक्षण दिइने जनाइएको छ।

उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघ सँग सम्झौता गरी प्राविधिक प्रशिक्षणको जिम्मा दिएको छ। दक्ष प्रशिक्षकमार्फत नियमित अभ्यास, सीप विकास तथा मूल्यांकन गरिनेछ।

सबै वडामा प्रशिक्षण सम्पन्न भएपछि १९ वटा टिमबीच प्रतिस्पर्धा गराई उत्कृष्ट खेलाडी छनोट गरिने योजना रहेको छ। छनोट भएका खेलाडीलाई समेटेर उपमहानगरपालिकाको आधिकारिक फुटबल टिम निर्माण गर्ने लक्ष्य लिइएको छ।

स्थानीय तहबाटै खेलकुद संरचना सुदृढ गर्दै भविष्यका राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ धनगढीले ग्रासरुट अभियानलाई नयाँ उचाइ दिन थालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner