कैलाली जिल्ला महिला फुटबल विकास समितिको संयोजकमा रमेश बोगटी नियुक्त
धनगढी — कैलाली जिल्ला फुटबल संघ ले महिला फुटबल विकासलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण जिम्मेवारी तोकेको छ। संघले सहायक महासचिव रमेश बोगटी लाई महिला फुटबल विकास समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको हो।

संघद्वारा जारी पत्रअनुसार जिल्लाभर सञ्चालन हुँदै आएका महिला फुटबल कार्यक्रमलाई समन्वय गर्दै व्यवस्थित ढंगले अघि बढाउने जिम्मेवारी बोगटी लाई दिइएको छ। साथै, विभिन्न संघ–संस्था र निकायसँग सहकार्य गर्दै महिला खेलाडीहरूको सहभागिता बढाउने लक्ष्यसमेत राखिएको छ।
नवनियुक्त संयोजक बोगटी लाई प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, विभिन्न उमेर समूहका खेलाडीहरूको प्रशिक्षण व्यवस्थापन, महिला खेलाडीलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन, तथा फुटबल मार्फत महिला सशक्तीकरणका कार्यक्रम तयार पार्ने जिम्मेवारी दिइएको छ।

त्यसैगरी, जिल्लाभरका महिला फुटबल गतिविधिको समन्वय, खेलाडी तथा प्रशिक्षकहरूको परिचालन, र आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजाने काम पनि उनको प्रमुख दायित्व रहनेछ।
संघले बोगटी लाई सफल कार्यकालको शुभकामना दिँदै महिला फुटबल विकासमा थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो