You are currently viewing धनगढीमा बेहडाबाबा मावि उत्कृष्ट: १२% बाट ८७.५०% सम्म नतिजामा ऐतिहासिक उछाल

धनगढीमा बेहडाबाबा मावि उत्कृष्ट: १२% बाट ८७.५०% सम्म नतिजामा ऐतिहासिक उछाल

धनगढीमा बेहडाबाबा मावि उत्कृष्ट: १२% बाट ८७.५०% सम्म नतिजामा ऐतिहासिक उछाल

धनगढी,कैलाली।धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ८ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयतर्फ धनगढी–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय उत्कृष्ट बनेको छ। शुक्रबार सार्वजनिक नतिजाअनुसार विद्यालयका ४८ जना परीक्षार्थीमध्ये ४२ जना उत्तीर्ण भएका छन्, जुन ८७.५० प्रतिशत हो।

केही वर्षअघिसम्म कमजोर नतिजाका कारण चिनिएको यस विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गर्दै उदाहरणीय सफलता हासिल गरेको छ। २०७९ सालमा मात्र १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० मा ६४.६० प्रतिशत र २०८१ मा ७५ प्रतिशत पुगेको थियो। अब विद्यालयले २०८३ मा ९० प्रतिशत उत्तीर्ण गराउने लक्ष्य लिएको छ।

प्रधानाध्यापक भोजराज शर्माका अनुसार नतिजा सुधारको मुख्य आधार अभिभावकसँगको निरन्तर सहकार्य, विद्यार्थीको कमजोरी पहिचान र लक्षित शिक्षण पद्धति हो। विद्यालयले बैशाखदेखि नै अभिभावक भेला आयोजना गर्दै नियमित परामर्श गर्दै आएको छ।

कमजोर विद्यार्थीलाई लक्षित गरी अङ्ग्रेजी, नेपाली र गणित विषयमा अतिरिक्त कक्षा सञ्चालन गरिएको छ भने माघदेखि छात्रावासमै राखेर परीक्षाको तयारी गराउने व्यवस्था मिलाइएको छ। साथै, हरेक शनिबार विषयगत परीक्षा सञ्चालन गरी कक्षामै समीक्षा गर्ने अभ्यासले पनि विद्यार्थीको सिकाइमा सुधार ल्याएको छ।

२०७९ सालदेखि धनगढी उपमहानगरपालिकाले परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाएपछि सुरुमा नतिजा कमजोर देखिए पनि त्यसपछि सामुदायिक विद्यालयहरूको पठनपाठनमा क्रमशः सुधार आएको छ। यस वर्ष सामुदायिक विद्यालयहरूको औसत उत्तीर्ण दर ५०.०६ प्रतिशत पुगेको छ।

शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य, उपमहानगरपालिकाको नियमित सुपरीवेक्षण तथा विद्यालयको सुधारमुखी प्रयासले बेहडाबाबा माध्यमिक विद्यालयलाई सफलताको नयाँ उचाइमा पुर्‍याएको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner