You are currently viewing “फुटबललाई होइन, एन्फालाई निशाना बनाइयो” — केन्द्रीय सदस्य अनिल मल्ल

“फुटबललाई होइन, एन्फालाई निशाना बनाइयो” — केन्द्रीय सदस्य अनिल मल्ल

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य अनिल मल्लले नेपाली फुटबलको वर्तमान संकट समाधानका लागि सबैभन्दा पहिले फिफाले लगाएको प्रतिबन्ध फुकुवामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

उनका अनुसार पछिल्ला साढे तीन वर्षमा शहीद स्मारक ए डिभिजन लिग मात्र नभई महिला फुटबल, उमेर समूहका प्रतियोगिता तथा अन्य फुटबल गतिविधिहरू पनि सञ्चालन भएका थिए। यद्यपि ती प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन हुन नसकेको उनले स्वीकार गरेका छन्।

मल्लले प्रतियोगिताको अनियमितता वर्तमान नेतृत्वबाट मात्रै सिर्जना नभएको दाबी गर्दै विगतका संरचनागत समस्या र फिफाको ‘कन्ट्रोल फन्डिङ’ जस्ता विषयको गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्।

उनका अनुसार २०६२ सालयता नेपालमा शहीद स्मारक ए डिभिजन लिग अपेक्षाअनुसार नियमित हुन सकेको छैन। पछिल्लो दुई दशकमा करिब ८–९ संस्करण मात्र सम्पन्न भएको उल्लेख गर्दै उनले यसको वास्तविक कारणबारे निष्पक्ष अध्ययन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

एन्फा मुख्यालयमा भइरहेको घेराबन्दीबारे बोल्दै मल्लले त्यसलाई वर्तमान कार्यसमितिलाई कमजोर बनाउने र बदनाम गर्ने योजनाबद्ध प्रयासको रूपमा टिप्पणी गरेका छन्।

उनले अहिलेको मुख्य आवश्यकता फिफाको प्रतिबन्ध फुकुवा गराउनु रहेको बताउँदै त्यसपछि नेपाली फुटबलका सम्पूर्ण गतिविधि क्रमशः सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेका छन्। साथै, यस विषयमा नेपाल सरकारले पनि आवश्यक पहल र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner