You are currently viewing पाँचौं गौरीगंगा मेयर कप : वडा नं. १ र २ सेमिफाइनलमा, नरेश विक र प्रेम कठायत ‘म्यान अफ दि म्याच’

पाँचौं गौरीगंगा मेयर कप : वडा नं. १ र २ सेमिफाइनलमा, नरेश विक र प्रेम कठायत ‘म्यान अफ दि म्याच’

गौरीगंगा, कैलाली- जेठ १९। युवाहरूमा अनुशासन, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको पाँचौं गौरीगंगा मेयर कप–२०८३ पुरुष तथा महिला फुटबल प्रतियोगिताको चौथो दिनका खेलहरू रोमाञ्चक रूपमा सम्पन्न भएका छन्।

२१ वर्षमुनिका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दुई खेल सम्पन्न भए। पहिलो खेलमा वडा नं. २ ले वडा नं. १० लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का जर्सी नं. ११ का नरेश विक ‘म्यान अफ दि म्याच’ घोषित भए। उनलाई गौरीगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर सिंह सार्कीले पुरस्कार प्रदान गरेका थिए।

त्यसैगरी दोस्रो खेलमा वडा नं. १ ले वडा नं. ३ लाई २–१ गोलले पराजित गर्दै महत्वपूर्ण जित हात पार्यो। खेलका उत्कृष्ट खेलाडी वडा नं. १ का जर्सी नं. १२ का प्रेम कठायत ‘म्यान अफ दि म्याच’ घोषित भए। उनलाई सुदूरपश्चिम प्रदेश फुटबल संघका सदस्य तथा गौरीगंगा ११ स्पोर्टस् क्लबका अध्यक्ष दिनेश कलेलले  पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताअन्तर्गत जेठ २० गते दिउँसो ३:४५ बजे महिला तर्फको पहिलो सेमिफाइनल खेल वडा नं. ८ र वडा नं. २ बीच हुने छ। त्यसपछि पुरुषतर्फको पहिलो सेमिफाइनल खेल वडा नं. २ र वडा नं. ७ बीच प्रतिस्पर्धा हुनेछ।

गौरीगंगा नगरपालिकाले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा संलग्न गराउने, नेतृत्व क्षमता तथा अनुशासन विकास गर्ने र लागूऔषध दुर्व्यसन न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिरहेको जनाएको छ।

नगरपालिकाभित्रका विभिन्न वडाका पुरुष तथा महिला टोलीहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजकको विश्वास रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner