शिल्पी थिएटरको ‘छुटेका सपना’ कैलालीमा मञ्चन हुँदै, मुक्त रङ्गमञ्चमार्फत किसान–मजदुरका कथा प्रस्तुत
धनगढी, कैलाली
१९ वर्षदेखि निरन्तर रङ्गमञ्चमा सक्रिय शिल्पी थिएटरले नाटक ‘छुटेका सपना’ लिएर देशव्यापी नाटक यात्रालाई निरन्तरता दिएको छ। किसान, मजदुर र आम मानिसका झमेला, दुःख र संघर्षका कथालाई बुनेर तयार गरिएको यो नाटक यस पटक माघ २७ गते कैलालीमा मञ्चन हुन लागेको हो।
नाटक दिउँसो ठीक ४:०० देखि ५:०० बजेसम्म कैलाली बहुमुखी क्याम्पसमा प्रस्तुत गरिनेछ। नाटकमार्फत समाजका भुइँमान्छेका कथालाई सशक्त ढंगले प्रस्तुत गर्दै कलाकारहरूमा हौसला थपिदिन दर्शकहरूलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।
शिल्पी थिएटरको नाटकघर काठमाडौंको बत्तीसपुतलीमा रहे पनि थिएटरले काठमाडौं बाहिर निरन्तर नाटक यात्रा गर्दै आएको छ। यस यात्राअन्तर्गत ‘छुटेका सपना’ विभिन्न स्थानमा मञ्चन हुँदै दर्शकसँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरिएको छ।
यस नाटकको विशेषता मुक्त रङ्गमञ्च शैली हो। खुला ठाउँलाई रङ्गमञ्चमा रूपान्तरण गरी तीनतिर दर्शक राखेर मञ्चन गरिने यस शैलीमा कम खर्चिलो, सजिलै जडान र खोल्न मिल्ने मञ्च सामग्री प्रयोग गरिन्छ। फलामका फ्रेम र कालो पर्दाबाट तयार गरिने नेपथ्य, कलाकार र वाद्यवादकको नजिकको उपस्थितिले दर्शक र कलाकारबीचको दूरी घटाउँछ।
मुक्त रङ्गमञ्चको प्रमुख विशेषता भनेकै दर्शकलाई नाटकको केन्द्रमा राख्नु हो। पात्रहरूको दुःख, संघर्ष र जीवनका कथामार्फत दर्शकले आफ्नै कथा देख्न र सुन्न पाउने वातावरण सिर्जना गरिन्छ। कलात्मक, स्वतन्त्र र संवादमुखी यो शैलीले नाटकलाई अझ जीवन्त बनाउने आयोजकको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो