गौरीगंगा, कैलाली ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गौरीगंगा नगरपालिका वडा नम्बर १, गोप्कामा वडा भेला तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरखबहादुर विष्ट ‘आनन्द’ को उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई थप सांस्कृतिक र जीवन्त बनाउँदै थारु समुदायका कलाकारहरूले परम्परागत “सखिया नाच” प्रस्तुत गरेका थिए। स्थानीय संस्कृति, पहिचान र मौलिकताको सम्मान गर्दै प्रस्तुत गरिएको सखिया नाचले उपस्थित सहभागीहरूको मन जितेको थियो।
वडा भेला तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार विष्टले जनताको पीडा सुन्ने, भावना बुझ्ने र गाउँ–बस्तीका वास्तविक समस्यालाई संसदसम्म पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याए।
उनले भने,
“राजनीति पद र प्रतिष्ठाको विषय होइन, सेवा र जिम्मेवारीको माध्यम हो। जनताका समस्या सुन्ने, बुझ्ने र समाधानका लागि आवाज उठाउने काम नै मेरो प्राथमिकता हुनेछ।”
स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत आधारभूत विषयमा जनताका गुनासा र सुझावहरू ध्यानपूर्वक सुनेका थिए। जनताको बीचमा पुगेर समस्या बुझ्ने उनको शैलीलाई उपस्थित मतदाताले सकारात्मक रूपमा लिएका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले इमानदार, सशक्त र जनउत्तरदायी नेतृत्व को आवश्यकता औँल्याउँदै लोकतन्त्रको मजबुतीका लागि सही निर्णय गर्न आग्रह गरेका थिए।
उम्मेदवार विष्टले देशको लोकतान्त्रिक भविष्य सुरक्षित गर्न सचेत नागरिकको भूमिकामा जोड दिँदै भने,
“आजको निर्णयले भोलिको दिशा तय गर्छ। त्यसैले विचार, विवेक र जिम्मेवारीका साथ मतदान गरौँ।”
वडा भेला तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमले स्थानीय तहमा चुनावी माहोल थप सक्रिय र उत्साहपूर्ण बनेको स्थानीयको भनाइ छ। कार्यक्रममार्फत कांग्रेसले वडा तहसम्म संगठन मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने रणनीति अपनाएको देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो