- कैलाली–४ : जितभन्दा माथि ‘विश्वासको राजनीति’ — गोरख विष्ट ‘आनन्द’को घरदैलो सन्देश

कैलाली।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी प्रतिस्पर्धा केवल जित–हारमा सीमित देखिँदैन। यो क्षेत्र नेपाली कांग्रेसका लागि विश्वास र राजनीतिक चुनौतीको परीक्षणस्थलका रूपमा हेरिएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोरख बहादुर विष्ट ‘आनन्द’ले यस निर्वाचनलाई अवसर र दायित्व दुवैका रूपमा लिएको बताएका छन्। शनिबार गौरीगंगा नगरपालिकामा घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उनले क्षेत्रका चुनौती बुझेको र त्यहीँ सम्भावनाको स्पष्ट खाका देखेको उल्लेख गरे।
विपक्षी दलहरूले कैलाली–४ लाई कांग्रेसको ‘परीक्षण क्षेत्र’ बनाइएको आरोप लगाइरहेका सन्दर्भमा विष्टले भने,
“यस्ता आरोपको जवाफ भाषणले होइन, भोलिका दिनमा गर्ने कामले दिनेछु।”
उनले निर्वाचन जनताको निर्णयबाट तय हुने स्पष्ट पार्दै नेता र कार्यकर्ताको मात्र प्रयासले चुनाव नजितिने धारणा राखे।
“चुनाव जनताले जिताउने हो, त्यसैले म गाउँ–गाउँ, घर–घर पुगिरहेको छु,” उनले भने, “जनताको आदेश र निर्णयमै चल्ने मेरो प्रतिबद्धता हो।”
प्रवासमा लामो समय बिताउँदै नेपाली कांग्रेसको प्रवास संगठनको नेतृत्व गरिसकेका विष्टले विदेशमा सिकेको व्यवस्थापन सीप, कार्यशैली र अनुभवलाई कैलाली–४ को विकाससँग जोड्ने योजना अघि सारे।
“मैले पढेको, भोगेको र सिकेको अनुभव यहीँ प्रयोग गर्न चाहन्छु,” उनले भने, “यो माटो मेरा लागि पराइ होइन, मेरो घर–परिवार यहीँ छन्।”
उनका अनुसार कैलाली–४ राजनीतिक प्रतिस्पर्धाको क्षेत्र मात्र नभई सम्भावनाको विशाल भण्डार हो। चुरे क्षेत्रले ढाकिएको यस निर्वाचन क्षेत्रमा कृषि र पर्यटन दुवैमा अपार अवसर रहेको उनले बताए। चुरे क्षेत्रमा अदुवा, सुन्तला, अलैँची खेती, कालिज उत्पादन तथा प्राकृतिक पर्यटनलाई योजनाबद्ध रूपमा विकास गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने उनको प्रतिबद्धता छ।
हालसम्म बाटो, बिजुली, शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहेका चुरे क्षेत्रका बस्तीलाई नीतिगत सुधार र दीर्घकालीन योजनामार्फत विकासको मूलधारमा ल्याउने उनले बताए। चुरे–४ मा अवस्थित राणाकालीन गर्भा दरबारलाई प्रमुख पर्यटन पूर्वाधारका रूपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
“विकास नाराले होइन, नीतिले सम्भव हुन्छ,” विष्ट भन्छन्, “राज्यको ध्यान चुरेका विकट बस्तीमा पुर्याउन सके मात्रै समावेशी विकास सम्भव छ।”
पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले आफू जित–हारको राजनीतिभन्दा विश्वासको राजनीतिमा उभिन चाहेको बताए।
“यो निर्वाचन केवल सांसद बन्ने दौड होइन,” उनले भने, “कैलाली–४ को भविष्यसँग जोडिएको मेरो गहन दायित्व हो।”
चुनावी सरगर्मी बढ्दै जाँदा कैलाली–४ मा नेपाली कांग्रेसबाट गोरख विष्ट ‘आनन्द’, नेकपा एमालेबाट लेखराज भट्ट, नेकपाबाट हरिराम चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोइराला चुनावी मैदानमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो