पारदर्शितामै जोड: युवा तथा खेलकुदमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक, इमान्दार कमाइ भएको दाबी
काठमाडौं, चैत्र ३० – शिक्षा युवा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल ले पारदर्शितालाई सबैभन्दा प्रभावकारी भ्रष्टाचारविरोधी अस्त्रका रूपमा व्याख्या गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफू त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयका विद्यार्थीसमेत रहेको उल्लेख गर्दै पारदर्शिताप्रति आफ्नो दृढ विश्वास व्यक्त गरेका हुन्।

मन्त्री पोख्रेलले आफ्नो व्यक्तिगत सम्पत्तिसँगै बुवा, आमा तथा मामाघर पक्षसम्मका सम्पत्तिहरू समेत खुला रूपमा सार्वजनिक गरेको जानकारी दिएका छन्। उनले बुवाको सवारी साधनसम्म विवरणमा समावेश गरेको उल्लेख गर्दै पूर्ण पारदर्शिताको अभ्यास गरेको बताएका छन्। “यी सम्पूर्ण सम्पत्तिहरू हाम्रो परिवारको इमान्दार मेहनतको कमाइ हुन्, मलाई कुनै डर छैन,” उनले बताएका छन्।
उनका बुवा नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका थिए। साथै, उनी अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी. मा Executive Director का सल्लाहकारका रूपमा पनि कार्यरत रहेको मन्त्रीले स्पष्ट पारेका छन्।

काठमाडौंमा रहेको जग्गा खरिदको सन्दर्भमा उनले त्यस समयको मूल्य अहिलेको तुलनामा निकै कम रहेको र हाल बजार मूल्य ५० गुणासम्म बढेको बताएका छन्। पारदर्शितालाई ध्यानमा राख्दै उनले खरिद मूल्यभन्दा हालको बजार मूल्य नै विवरणमा समावेश गरेको जानकारी दिएका छन्।
आफू केही हदसम्म सुविधा सम्पन्न पृष्ठभूमिबाट आएको स्वीकार गर्दै मन्त्री पोख्रेलले स्नातक तहदेखि नै आफ्नै आम्दानीबाट खर्च व्यवस्थापन गर्दै आएको बताएका छन्। साथै, आफ्नो नाममा देखिएको ऋणसमेत व्यक्तिगत रूपमा सवारी साधन खरिद गर्न लिएको स्पष्ट पारेका छन्।

PAN नम्बरको विषयमा उनले आफूसँग वैध PAN भए पनि व्यक्तिगत सुरक्षाका कारण सार्वजनिक विवरणमा उल्लेख नगरेको बताएका छन्।
अन्त्यमा, उनले “पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ” भन्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो