धनगढीमा स्वास्थ्य इन्चार्जद्वारा सहकर्मीमाथि आक्रमण, इट्टा प्रहारबाट अनमी घाइते
धनगढी,कैलाली: बैतडीका एक स्वस्थ्य चौकी इन्चार्जले धनगढीमा आफ्नै महिला सहकर्मीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले अनमी माया भट्टमाथि आक्रमण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१, अदालत रोड क्षेत्रमा लोहारले भट्टमाथि इट्टा प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ। घटनास्थलमा रहेका स्थानीयवासीले कुटपिट भइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोली घटनास्थलमै पुगेर लोहारलाई नियन्त्रणमा लिएको जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडित पक्षको निवेदनका आधारमा उनलाई हिरासतमा राखिएको छ। हालसम्म किटानी जाहेरी दर्ता नभएको र घाइते भट्टको उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा भइरहेको उनले जानकारी दिए।

पीडित माया भट्टले आफू शनिबार मात्रै धनगढी आएको बताउँदै घटनाको पृष्ठभूमिबारे खुलाएकी छन्। उनका अनुसार उनी कोटिलाबाट डडेल्धुरासम्म सुमन लोहारसँगै आएका थिए भने त्यसपछि दुवै जना छुट्टाछुट्टै धनगढी पुगेका थिए।
भट्टका अनुसार अर्का सहकर्मी लोगबहादुर महरासँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लोहारले विवाद सुरु गरेका थिए। ‘म पोखरा परीक्षा दिन जाने भन्दै धनगढी आएकी हुँ। चौराहा नजिक दाँत बनाउने कामका लागि गएकी थिएँ। सुमनले लोगबहादुरसँग किन फोनमा बोलेको भन्दै झगडा सुरु गर्यो,’ उनले भनिन्, ‘त्यसपछि टेलिकम जाने भनेर दबाब दियो, मैले नमानेपछि इट्टाले टाउकामा प्रहार गर्यो।’

भट्टले शङ्काकै आधारमा आफूमाथि आक्रमण भएको दाबी गर्दै लोगबहादुरसँग आफूले पाँच वर्षदेखि कुनै सम्पर्क नरहेको स्पष्ट पारेकी छन्।
यसैबीच, भट्टले लोहारसँग आर्थिक लेनदेनसम्बन्धी विवाद पनि रहेको उल्लेख गरेकी छन्। उनका अनुसार लोहारले आफूलाई करिब १५–१६ लाख रुपैयाँ दिन बाँकी रहेको छ, जुन रकम उनले व्याजमा लगानी गरेको बताएकी छन्।

पीडितका श्रीमान् वीरेन्द्र ऐर वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको जनाइएको छ।
घटनाले कार्यस्थलसँग सम्बन्धित व्यक्तिबीचको विवाद हिंसात्मक रूपमा परिणत भएको देखाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने दोषीमाथि कानुनी कारबाही हुने बताइएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो