You are currently viewing त्रिपुरा सुन्दरीको ठूली जात्रामा एस.पी. भट्ट द्वारा निःशुल्क यातायात सेवा घोषणा

त्रिपुरा सुन्दरीको ठूली जात्रामा एस.पी. भट्ट द्वारा निःशुल्क यातायात सेवा घोषणा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने परम्परागत ठूली जात्रामा सहभागी हुने दर्शनार्थीका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराइने भएको छ।

युवा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एस.पी. भट्टले जात्रामा सहभागी हुने श्रद्धालु भक्तजनको सहजता र सुविधालाई ध्यानमा राख्दै निःशुल्क हाइस सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।भट्टले जात्रामा सहभागी हुन चाहने भक्तजन यातायातको असुविधाका कारण माताको दर्शनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ।

घोषणा गरिएको व्यवस्थाअनुसार गोठलापानी बजार, सतबाँझ, जोशीबुङ्गा र झुलाघाटबाट त्रिपुरासुन्दरी भगवती मन्दिरसम्म निःशुल्क हाइस सेवा सञ्चालन हुनेछ।उक्त सेवामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा विपन्न वर्गका श्रद्धालु भक्तजनलाई विशेष प्राथमिकता दिन आग्रह गरिएको छ।

साथै, जात्रामा सहभागी हुने सम्पूर्ण भक्तजनलाई निःशुल्क यातायात सेवाको लाभ लिन अनुरोध गरिएको छ।धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै भक्तजनको सहजताका लागि गरिएको यस पहलले जात्रामा सहभागी हुने दर्शनार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।