You are currently viewing घोडाघोडीमा ७ दिने व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न — २५ महिला आत्मनिर्भरतातर्फ उन्मुख

घोडाघोडीमा ७ दिने व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न — २५ महिला आत्मनिर्भरतातर्फ उन्मुख

घोडाघोडीमा ७ दिने व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न — २५ महिला आत्मनिर्भरतातर्फ उन्मुख

घोडाघोडी, वैशाख २०

कैलालीको घोडाघोडी नगरपालिकामा सात दिने व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ। “सीप सिकौं, आत्मनिर्भर बनौं, एक वडा एक उद्योग गरौं, उत्पादन राखौं पहिचान” भन्ने मूल नाराका साथ वडा नम्बर १ मा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय महिलाहरूलाई उद्यमशीलता विकासतर्फ प्रेरित गरेको छ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो। पिपलडाँडा लघु उद्यमी समूहका २५ जना महिलाहरूले सक्रिय सहभागिता जनाउँदै मसला उत्पादन गर्ने तरिका, कच्चा पदार्थको छनोट, प्रशोधन विधि, प्याकेजिङ, भण्डारण तथा बजार व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान हासिल गरेका छन्।

तालिमका प्रशिक्षक तथा कामना मसला उद्योगका प्रबन्धक पंकज बहादुर देउवाले सहभागीहरू लाई मसला उद्योग सञ्चालनका लागि आवश्यक सीप, गुणस्तर कायम गर्ने उपाय, लागत व्यवस्थापन तथा बजार विस्तारका रणनीतिहरूबारे प्रशिक्षण दिएका थिए। सहभागी महिलाहरूले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आफ्नै खुट्टामा उभिने दृढता व्यक्त गरेका छन्। उनीहरूले यस तालिमले आत्मविश्वास बढाउनुका साथै आय आर्जनको नयाँ बाटो खुलेको बताएका छन्।

तालिम अवधिमा उत्पादित मसलाको गुणस्तर, स्वच्छता र खाद्य सुरक्षाको मापदण्डबारे समेत विशेष ध्यान दिइएको थियो। यस सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य निरीक्षकहरूले सहभागी महिलाहरूलाई गुणस्तरीय उत्पादन कसरी गर्ने भन्नेबारे थप प्रशिक्षण प्रदान गरेका थिए, जसले भविष्यमा उत्पादनलाई बजार प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सात दिने तालिमको समापन एक औपचारिक समारोहका बीच गरिएको थियो। कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर रावतले सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गरे। उनले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै साना उद्योग मार्फत आर्थिक सशक्तिकरण हासिल गर्न सकिने धारणा व्यक्त गरे।

वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उद्यम विकास शाखा प्रमुख जुगीना चौधरी, पिपलडाँडा लघु उद्यमी समूहकी अध्यक्ष लक्ष्मी सापकोटा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले यस्ता सीपमूलक तालिमले ग्रामीण महिलाहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

स्थानीय तहको पहलमा सञ्चालन भएका यस्ता तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner